रुस : युक्रेन आक्रमण रोक्ने कुनै विकल्प छैन
- ०८ अशोज २०८२
- १ मिनेटको पढाई
मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको अभिव्यक्तिलाई खारेज गर्दै क्रेमलिनले युक्रेनमा सैन्य आक्रमण जारी राख्नुबाहेक अरू विकल्प नरहेको जनाएको छ।
ट्रम्पले युक्रेनले आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने र रुस असफल अर्थतन्त्र भएको दाबी गरेको एक दिनमै मस्कोले यस्तो प्रतिक्रिया दिएको हो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “राष्ट्रपति भ्लादिमिर पुटिनले तोकेको लक्ष्य पूरा गर्न र राष्ट्रिय चासो सुरक्षित गर्न विशेष सैन्य अभियान जारी राख्नेछौँ। यो हाम्रो वर्तमान र भविष्य मात्र होइन, आउने पुस्ताका लागि पनि हो। त्यसैले, हामीसँग विकल्प छैन।”
पेस्कोभले रुसले मुद्रास्फीति र सुस्त अर्थतन्त्र जस्ता चुनौती भोगिरहेको स्वीकार गरे पनि समष्टिगत आर्थिक स्थिरता कायम रहेको दाबी गरे।
त्यसैगरी उनले अमेरिका–रुस सम्बन्ध सुधारका लागि गरिएको प्रयासलाई “शून्यको नजिक परिणाम” भएको बताए। ट्रम्प ह्वाइट हाउस फर्किएपछि सुरु भएको मेलमिलाप प्रक्रिया निकै सुस्त गतिमा अघि बढेको उनको भनाइ थियो।
मस्कोले युक्रेन द्वन्द्वभन्दा बाहिर गएर अमेरिकासँग कूटनीतिक र आर्थिक सहकार्य बढाउने प्रयास गरिरहेको भए पनि परिणाम अझै न्यून रहेको पेस्कोभले स्वीकार गरेका छन्।