भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प
- ०९ अशोज २०८२
- १ मिनेटको पढाई
काराकस- उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) ले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा र २७ किलोमिटर गहिराइमा रहेको थियो। राजधानी काराकस (केन्द्रविन्दुबाट करिब ६०० किलोमिटर टाढा) मा समेत कम्पन महसुस गरिएको थियो।
कयौँ भवन हल्लिएपछि स्थानीय बासिन्दा सडकमा निस्किन बाध्य भएको एएफपीले जनाएको छ। तर, USGS ले यस भूकम्पबाट सुनामीको खतरा नरहेको बताएको छ।
यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसको कम्पन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो।
गृहमन्त्री डायोस्डाडो क्याबेल्लोका अनुसार भूकम्पले “उल्लेखनीय संरचनात्मक क्षति” भने गरेको छैन।
भेनेजुएलामा शक्तिशाली भूकम्प कमै आउने भए पनि जनसंख्या घना भएका क्षेत्रहरू उच्च भूकम्पीय जोखिममा छन्। सन् १९९७ मा सुक्रे राज्यमा आएको ७.० म्याग्निच्युडको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९७६ मा काराकसमा गएको भूकम्पले करिब ३०० जनाको ज्यान लिएको थियो।