ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर
- १० अशोज २०८२
- १ मिनेटको पढाई
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
आगामी अक्टोबर १ देखि लागू हुने नीतिअनुसार अमेरिकाभित्र उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधिमा १०० प्रतिशत कर, विदेशी भारी ट्रकमा २५ प्रतिशत कर, किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० प्रतिशत कर तथा अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर तोकिएको छ।
राष्ट्रपति ट्रम्पले यस कदमलाई ‘राष्ट्रिय सुरक्षा’सँग जोड्दै आयातमा निर्भरता कम गर्ने र अमेरिकी उत्पादनलाई संरक्षण गर्ने उद्देश्य रहेको बताएका छन्।
यस कदमप्रति अस्ट्रेलियाले कडा प्रतिक्रिया जनाएको छ। सन् २०२४ मा मात्र उसले करिब १.३५ अर्ब डलर मूल्यका औषधि अमेरिकामा निर्यात गरेको थियो। यस्तै, युरोपेली कम्पनी भोल्भो र डेमलरका सेयर मूल्य घटेका छन् भने अमेरिकाभित्र आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनी प्रभावित भएका छन्।
विशेषज्ञहरूले यी नयाँ शुल्कहरूले अमेरिकी उपभोक्तामा प्रत्यक्ष असर पार्ने र मुद्रास्फीति बढाउने चेतावनी दिएका छन्।