भारतको मिग–२१ लडाकू विमान छ दशकपछि सेवानिवृत्त
- १० अशोज २०८२
- १ मिनेटको पढाई
नयाँदिल्ली- भारतले शुक्रबार सोभियत युगको मिग–२१ लडाकू जेटलाई आधिकारिक रूपमा सेवानिवृत्त गरेको छ। ६० वर्षभन्दा बढी सेवा पश्चात् यो विमानलाई अन्तिम विदाई दिइएको हो। मिग–२१लाई यसको प्राविधिक कमजोरीका कारण ‘फ्लाइङ कफिन’ उपनाम पनि दिइएको थियो।
भारतीय वायुसेनाले चीन र पाकिस्तानसँगको सम्भावित सुरक्षा चुनौतीको सामना गर्न आफ्नो फ्लीटलाई आधुनिक बनाउने आवश्यकता औँल्याउँदै मिग–२१ सेवामुक्त भएको जानकारी दिएको छ। अब भारतले फ्रान्सको राफेल, रूसी सु–३०, मिराज २००० र स्वदेशी तेजस जेटहरूमा ध्यान केन्द्रित गर्नेछ।
शुक्रबार चण्डीगढस्थित उत्तरी एयरबेसमा गरिएको अन्तिम उडान कार्यक्रममा रक्षामन्त्री राजनाथ सिंहले उपस्थित थिए। अवतरणपछि विमानलाई वाटर क्यानन सलामी दिइयो।
भारतीय वायुसेनाले हाल ८७ वटा नयाँ तेजस खरिद गर्ने सम्झौता गरिसकेको छ र थप ९७ नयाँ जहाज खरिद गर्ने योजना अगाडि बढाएको छ।