अन्तरिक्ष सुरक्षामा जर्मनीको ३५ अर्ब युरो लगानी
- ११ अशोज २०८२
- १ मिनेटको पढाई
बर्लिन- जर्मनीले आफ्नो अन्तरिक्ष सुरक्षा क्षमताहरू थप सुदृढ बनाउन आगामी पाँच वर्षमा ३५ अर्ब युरो लगानी गर्ने निर्णय पारे। रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा आयोजित स्पेस कंग्रेसमा बताए अनुसार, राष्ट्रिय अन्तरिक्ष सुरक्षा प्रणाली छिट्टै स्थापना गरिनेछ।
उनले बहुपरत उपग्रह नेटवर्क, पूर्वचेतावनी र निगरानी प्रणाली, साथै सैन्य उपग्रह सञ्चालन केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी दिएका छन्। पिस्टोरियसले अन्तरिक्षमा भविष्यका द्वन्द्व केवल स्थल, समुद्र र आकाशमा सीमित नहुने भएकाले शान्ति र सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताए।
उनले अन्तरिक्ष सुरक्षामा राजनीति, उद्योग, अनुसन्धान र सैन्य क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको बताउँदै युरोपेली संघ र नाटोभित्र कडा साझेदारी कायम गर्न र जर्मन उद्योगलाई सक्रिय सहभागी बनाइ प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।
यस योजनाले जर्मनीको अन्तरिक्ष सुरक्षा प्रतिवद्धता र जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।