२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

न्यूयोर्क- रूसी विदेश मन्त्री सर्गेई लाभ्रोभले रूस–युक्रेन द्वन्द्वका मूल कारण समाधान गर्न वार्ताका लागि आफूहरू तयार रहेको बताएका छन् ।

यूएनजीएको ८० औँ सत्रमा बोल्दै उनले रूसको सुरक्षासँगै युक्रेनमा रहेका रूसी जनता र रूसी भाषीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । मस्कोको अधिकार र चासोको सम्मान भएमा सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न सकिने उनले उल्लेख गरे ।

उनका अनुसार द्वन्द्वले राष्ट्रहरूको सार्वभौमसत्ता र विश्वासलाई कमजोर पारेको छ । उनले सबै राष्ट्रलाई सैन्य शक्ति वा अर्थतन्त्र जस्तोसुकै भए पनि समान स्थान दिनुपर्ने आह्वान गरे ।

लाभ्रोभले पश्चिमी शक्तिले बल प्रयोग र धम्कीमार्फत अन्तर्राष्ट्रिय सिद्धान्त उल्लङ्घन गरेको आरोप लगाए । मध्यपूर्वमा इजरायलको कदम र कतार, यमन, लेबनान, सिरिया र इरानविरुद्धका आक्रामक गतिविधिले अस्थिरता बढाएको उनले बताए ।

अमेरिकासँगको सम्बन्धबारे उनले राष्ट्रपति पुटिन र डोनाल्ड ट्रम्पबीच अलास्का शिखर सम्मेलनपछि संवाद निरन्तरतामा आशा रहेको जनाए । रूस–अमेरिका दुवैले नयाँ युद्ध टार्न विशेष जिम्मेवारी बोकेका उनले उल्लेख गरे ।

संयुक्त राष्ट्र सुधार सन्दर्भमा लाभ्रोभले सुरक्षा परिषद्मा एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व बढाउनुपर्ने र सबै सदस्यको हित सुनिश्चित गर्दै पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिए ।