जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड
- १२ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाका लागि हालसम्म करिब रु २३ अर्ब ३९ करोड बराबरको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
भदौ २३–२४ गतेका घटनापछि हालसम्म दुई हजार नौ सय ८८ वटा बीमा दाबी आवेदन दर्ता भएका छन् । तीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य ३० वटा रहेका छन् ।
सबैभन्दा धेरै बागमती प्रदेशबाट १,६०८ दाबी परेका छन् । यस्तै, कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी आवेदन दर्ता भएका छन् ।
बीमा कम्पनीमध्ये सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रु ५ अर्ब ४५ करोड, ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड, आइजिआई प्रुडेन्सियलमा रु २ अर्ब ७९ करोड, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड बराबरको दाबी परेको छ ।
प्राधिकरणका अनुसार मुलुकभर १४ निर्जीवन र चार माइक्रो इन्स्योरेन्स कम्पनीमा दाबी आवेदन पुगेका छन् र क्षतिको परिमाण अझै बढ्न सक्ने अनुमान गरिएको छ ।