अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
- १२ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज मन्त्रालयमा शिष्टाचार भेट भयो ।
भेटमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालमा भइरहेको आर्थिक–सामाजिक विकास, पुनःनिर्माण र जापानको सहयोगबारे छलफल भयो । अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख लक्ष्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
छलफलमा नागढुङ्गा टनेल मार्ग, तनहुँ जलविद्युत् आयोजना, कोटेश्वर चोक सुधार परियोजना र सिन्धुली सडक बाढी प्रभावित पुनःस्थापना कार्यक्रमलगायतका विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा पनि उपस्थित थिए ।