मनहास नयाँ बिसिसिआई अध्यक्ष
- १२ अशोज २०८२
- १ मिनेटको पढाई
मुम्बई, भारतका पूर्व घरेलु क्रिकेटर मिथुन मनहास भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार मुम्बईमा सम्पन्न वार्षिक साधारण सभापछि उनलाई औपचारिक रूपमा अध्यक्ष घोषणा गरिएको हो । उनले ७० वर्षको अनिवार्य सेवानिवृत्तिमा पुगेका रोजर बिन्नीलाई प्रतिस्थापन गरेका हुन् । उपाध्यक्षमा राजीव शुक्ला र सचिवमा देवजित साइकिया निर्वाचित भएका छन् ।
४५ वर्षीय मनहासले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । तर दिल्लीबाट १५७ प्रथम श्रेणी खेल खेलेर ९७१४ रन बनाएका थिए । दिल्ली टोलीमा वीरेन्द्र सेहवाग र गौतम गम्भीरको छायाँमा परे पनि उनले प्रायः टोलीको नेतृत्व गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनले ५० भन्दा बढी खेल खेलेका थिए ।
क्रिकेट जीवनपछि उनी प्रशासकका रूपमा सक्रिय भए । जम्मु–काश्मीर क्रिकेट सङ्घमा निर्देशक रहँदा आधारभूत संरचना विकासमा योगदान दिए ।
भारतमा क्रिकेटको अपार लोकप्रियताले बिसिसिआईलाई विश्वकै धनी खेल निकाय बनाएको छ । मनहासलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को समर्थन रहेको बताइन्छ । गत हप्तामात्र गृहमन्त्री अमित शाहको निवासमा उनलाई उम्मेदवारका रूपमा छनोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए ।
उनको निर्वाचनसँगै भारतीय क्रिकेटमा नयाँ प्रशासनिक अध्याय सुरु भएको मानिएको छ ।