४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

दुबई- एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ ।

पाकिस्तानी कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भनेका छन् भने भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो गरेका छन् ।

उपाधि निर्णायक खेलपछि दुवै टोलीले हात मिलाउन अस्वीकार गरे । भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष तथा एसिसी प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमै सहभागी नभएपछि स्थिति थप तनावपूर्ण बन्यो ।

पत्रकारहरूसँग कुरा गर्दै यादवले भने, “मैले आजसम्म देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानियोस् । वास्तविक ट्रफी त मेरा खेलाडी र स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन् । ठूलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै ठूलो गौरव हो ।”

समारोह करिब एक घण्टा ढिलाइमा सुरु हुँदै उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको जानकारी दिए ।

यसप्रति असन्तुष्टि जनाउँदै अघाले भने, “भारतले देखाएको व्यवहार क्रिकेटकै लागि निराशाजनक हो । यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरे भन्ने सोच्दा हुन् भने, उनीहरूले खेलकै अनादर गरेका हुन् । हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ ।”

यो वर्षको एसिया कप विशेष संवेदनशील मानिएको थियो, किनकि हालै मात्र आणविक–सशस्त्र दुवै छिमेकीबीच घातक झडप भएको थियो । प्रतियोगिताभरै राजनीतिक सङ्केत र आक्रामक खेलशैली देखिँदा तनाव बढेको थियो ।

अन्त्यमा अघाले चेतावनी दिए, “यो पहिलोपटक देखिएको घटना हो । यसरी चलिरहे भविष्यमा के हुन्छ भन्ने अनुमान गर्नै सकिँदैन । यो क्रिकेटका लागि राम्रो होइन ।”