दसैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वः सभामुख घिमिरे
- १३ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दसैंलाई नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा स्थापित भएको बताएका छन् ।
बडा दसैं, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकका रूपमा रहेको यस पर्वले सबैमा नयाँ उमङ्ग, उत्साह र सद्भाव जागृत होस् भन्ने कामना गरेका छन् ।
धार्मिक आस्थाअनुसार विजयादशमीका दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेकी थिइन् भने रामले रावणलाई पराजित गरेका थिए । सभामुख घिमिरेले यस पर्वले सत्यले असत्यमाथि, न्यायले अन्यायमाथि र दिव्य शक्तिले असुरी शक्तिमाथि जित हासिल गर्ने सन्देश दिने बताए ।
टीका, जमरा र आशीर्वाद आदान–प्रदान गर्ने परम्पराले परिवारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीलाई साझा संस्कारमार्फत एकतामा बाँध्ने पर्वका रूपमा दसैं रहेको उनको भनाइ छ ।
यस वर्ष दसैंको पूर्वसन्ध्यामा देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न पनि यो पर्वले प्रेरणा दिने विश्वास उनले व्यक्त गरे । विद्रोहका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । साथै, नष्ट भएका संरचना र क्षतिग्रस्त लगानीको पुनर्निर्माणमा राज्य र समाज दुवैको भूमिका रहने बताए ।
सभामुख घिमिरेले युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित रहेको उल्लेख गर्दै भने, “संविधान संशोधनीय दस्तावेज भएकाले ती मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ । लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिन्छ । यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु ।”