राष्ट्रपति पौडेल : निर्वाचन समयमै सम्पन्न गरी संसद् र सरकारको निरन्तरता कायम गर्न सहयोग गर्न अपिल
- १३ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरता कायम राख्न सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् ।
दसैं, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा उत्पन्न असाधारण परिस्थिति र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
धार्मिक आस्थाअनुसार विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय प्राप्त गरेको विश्वास गरिन्छ । यस पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइँदै आएको छ ।
उनले भने, “दसैंको उपलक्ष्यमा पारिवारिक जमघट र पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गर्ने परम्पराले सामाजिक एकता र भाइचारालाई बलियो बनाएको छ । दसैंले न्याय र समानतासहितको आर्थिक समृद्धि, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलका अनुसार मान्यजनप्रति श्रद्धा, सम्मान र आशीर्वाद ग्रहण गर्ने परम्पराले पर्वको महत्व अझ बढाएको छ । यसले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत् बनाउँदै विविधताबीचको सामाजिक एकतालाई सुदृढ गर्न भूमिका खेलिरहेको छ ।
सन्देशमा उनले वर्तमान राजनीतिक परिस्थितिबाट छिटो उन्मुक्ति प्राप्त भई राष्ट्रको समग्र कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।