वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गर्दै गाजा युद्ध रोक्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने उद्देश्यसहित २०–बुँदे योजना सार्वजनिक गरेका छन्।
ट्रम्पले हाल हमास लडाकूहरू कमजोर अवस्थामा रहेको भन्दै प्रस्ताव अस्वीकार गर्ने विकल्प नभएको बताए। नेतान्याहुले पनि योजना नमानेमा इजरायल आफैंले अन्तिम कारबाही गर्ने चेतावनी दिएका छन्।
कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत उक्त प्रस्ताव हमासलाई बुझाइएको छ। हमासका प्रतिनिधिहरूले यसलाई ‘सकारात्मक सोचका साथ’ अध्ययन भइरहेको बताएका छन्। पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन्।
तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको विषय स्पष्ट रूपमा समेटिएको छैन भन्ने आलोचना भएको छ। विगतका वार्तामा अस्वीकार्य मानिँदै आएको हमासको निःशस्त्रीकरण पनि यसपटक योजना भित्र राखिएको छ। यसैसंगै, ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समेत समावेश गरी अस्थायी प्रशासकीय समिति बनाइने उल्लेख गरिएको छ।
योजनाअनुसार इजरायलले स्वीकृति दिएलगत्तै ७२ घण्टाभित्र हमासले सबै बन्धकहरू मुक्त गर्नुपर्नेछ। यसको सट्टामा इजरायलले सयौँ प्यालेस्टिनीलाई रिहा गर्नेछ, जसमा आजीवन कारावास भोगिरहेका कैदी पनि हुनेछन्।
ट्रम्पले प्रस्ताव असफल भएमा हमासविरुद्ध थप इजरायली कारबाहीमा आफूले ‘पूर्ण समर्थन’ गर्ने चेतावनी दिए। उनले कतारमा भएको इजरायली आक्रमणप्रति नेतान्याहुको खेद व्यक्त गरिएको र कतारी प्रधानमन्त्रीले माफी स्वीकार गरेको पनि जानकारी दिए।
तर, इजरायली अति–दक्षिणपन्थी नेताहरूले भने कतारमा भएको आक्रमणलाई ‘न्यायपूर्ण’ ठहर गर्दै समर्थन गरेका छन्। नेतान्याहु सरकारभित्रै पनि गठबन्धन साझेदारहरूले हमासको पूर्ण उन्मूलनको माग गर्दै दबाब बढाइरहेका छन्।
योजनामा बन्धकहरू मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्वमा तयार देखिएका हमास सदस्यलाई माफी दिने र गाजा छोड्न चाहनेलाई सुरक्षित मार्ग दिने व्यवस्था गरिएको छ।
इजरायलले हाल ४८ जना बन्धक रहेको र तीमध्ये २० जना जीवित रहेको विश्वास गरेको छ। हमासले अघिल्ला वार्तामा शासन छोड्न सहमति जनाए पनि निःशस्त्रीकरण अस्वीकार गर्दै आएको थियो।
गत हप्ताको संयुक्त राष्ट्र महासभा साइडलाइनमा ट्रम्पले विभिन्न अरब तथा इस्लामिक नेताहरूसँग छलफल गरेका थिए। उनले यो प्रस्तावलाई मध्यपूर्वमा स्थायी शान्ति र समृद्धिको नयाँ युग सुरु गर्ने अवसरका रूपमा चित्रण गरे।
उनले भने, “म प्यालेस्टिनीहरूलाई आफ्नो भाग्यको जिम्मेवारी लिन चुनौती दिन्छु। अहिले हामीले उनीहरूलाई त्यो अवसर दिइरहेका छौँ।”