वेस्ट इन्डिजविरुद्धको शृंखला नेपालको कब्जामा
- १४ अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै शारजाहमा जारी युनिटी कप टी–२० क्रिकेट शृङ्खलाको उपाधि हात पारेको छ।
सोमबार भएको दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटियो। जेसन होल्डरले सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १७ र अमिर जांगोले १६ रनको योगदान गरे।
नेपालका आदिल आलमले ४ विकेट, कुशल भुर्तेलले ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। आसिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा ६३ रन जोडे।
वेस्ट इन्डिजका कप्तान अकिल होसेन र कायल मायर्सले समान २–२ विकेट लिए भने जेडिया ब्लेड्सले १ विकेट लिएका थिए।
यो जितसँगै नेपालले एक खेल अगावै नै शृङ्खला आफ्नो नाम गरेको छ।