न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले भन्नुभयो, नेपाल शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहितको विकासको बाटो अवलम्बन गर्दै अघि बढिरहेको छ।
संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनमा सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै उनले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेको शान्ति, लोकतन्त्र र समावेशी विकासको बाटो हो।”
उनीले मुलुकमा भएका पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी गराए। नेपाली युवा पुस्ताले पारदर्शी, जवाफदेही र जनउत्तरदायी शासनको आधारमा निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने माग गरेको उनी बताए।
नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको जानकारी दिँदै उनले सार्वभौम नेपाली जनताले नयाँ नेतृत्व छान्न पाउने अधिकारसहित आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकिएको बताए।
उनीले संयुक्त राष्ट्रसङ्घलाई बहुपक्षीयताको आधार, शान्ति, न्याय, मानव स्वाभिमान, साझा समृद्धि र नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्था हुने आशा भएको भन्दै यसका महत्वपूर्ण मूल्यमान्यताहरू जोगाउनुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्रसङ्घ र यसको ‘चार्टर’लाई नेपालको परराष्ट्र नीतिको आधारभूत काखका रूपमा व्याख्या गर्दै उनले बहुपक्षीयताप्रति नेपालको अटुट विश्वास पुनः पुष्टि गरे।
सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि विश्वभर शान्ति प्रवद्र्धन, मानव स्वाभिमान र दिगो विकासमा नेपालको योगदान उल्लेखनीय रहेको उनीले सम्झाए। उनले भने, “राष्ट्र सङ्घको आह्वान अनुसार नेपाल विश्वकै सबैभन्दा ठूलो शान्ति सैनिक पठाउने देशका रूपमा रहेको छ। हाम्रा उच्च व्यावसायिक शान्ति सैनिकहरू जिम्मेवारी बोधसहित विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा अहोरात्र खटिरहेका छन्।”
उनीले जलवायु परिवर्तन र विश्वमा देखिएका संकटप्रति चिन्ता व्यक्त गर्दै सबै प्रकार र स्वरुपका आतंकवादको निन्दा गरे। पूर्ण निःशस्त्रीकरणको आह्वान गर्दै विश्व शान्ति र समृद्धिमा जोड दिन उनी अनुरोध गरे।
प्यालेस्टाइनको गाजा क्षेत्रमा बढ्दो मानवतावादी संकट र हमासद्वारा निर्दोष नागरिकलाई बन्धक बनाइएका घटनाप्रति उनी चिन्तित देखिए। सन् २०२३ अक्टोबर ७ देखि बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीलाई तुरुन्त मुक्त गर्न उनले आग्रह गरे।
महासभालाई सम्बोधन गर्दै उनले विश्व शान्ति र सुरक्षाको प्रत्याभूति, बहुपक्षीयताको सुदृढीकरण, दिगो विकास लक्ष्य कार्यान्वयन, अति कम विकसित देश र कमजोर मुलुकको विकास तथा जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र समावेशी डिजिटल रुपान्तरण प्रवर्द्धनमा विश्वव्यापी प्रयासको आह्वान गरे।
अतिकम विकसित राष्ट्र र आर्थिक–सामाजिक परिषदको अध्यक्षको हैसियतमा उनले प्रभावकारी, विश्वासिलो र नतिजामुखी सहकार्यद्वारा सुरक्षित, समृद्ध र दिगो विश्व निर्माणमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे।
संयुक्त राष्ट्र महासभाको ८०औँ अधिवेशनले समावेशी, पारदर्शी र प्रभावकारी बहुपक्षीय प्रणालीमा सामूहिक प्रतिबद्धता नवीकरण गर्ने अवसर दिएको भन्दै उनीले अतिकम विकसित मुलुक र भूपरिवेष्टित विकासशील देशलाई प्राथमिकतासाथ सहयोग र सहुलियतको व्यवस्था हुनुपर्नेमा जोड दिए।
स्थायी प्रतिनिधि थापाले सुरक्षा परिषद्मा सुधार गरी यसलाई अझ प्रतिनिधिमूलक, पारदर्शी र जवाफदेही बनाउनुपर्ने नेपालको माग र वर्तमान विश्व यथार्थ अनुसार वित्तीय संरचनाको सुधार आवश्यक रहेको कुरा स्मरण गराए।
सामान्यतया राष्ट्रप्रमुख वा सरकारप्रमुखले महासभामा भाग लिन्छन्, तर यस वर्ष स्थायी प्रतिनिधि थापा नेतृत्वको प्रतिनिधिमण्डल सक्रिय देखिएको छ।