२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको दुर्लभ सामूहिक बैठक सम्बोधन

ट्रम्पद्वारा अमेरिकी उच्च सैन्य अधिकारीहरूको दुर्लभ सामूहिक बैठक सम्बोधन

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ सैन्य अधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्ने भएका छन्। बैठकको औपचारिक कारण भने सार्वजनिक गरिएको छैन।

अहिले अमेरिकी सेना देशभित्र र विदेशमा अनेक विवादको घेरामा छ। ट्रम्पले दुई डेमोक्रेटिक सहरमा सेना उतारिसकेका छन् भने क्यारिबियन क्षेत्रमा लागूऔषध बोक्ने भनिएका साना डुङ्गामाथि घातक आक्रमण गर्न आदेश दिएका थिए। उनले पदभार सम्हालेपछि इरानी आणविक केन्द्र र तेहरान समर्थित यमनी विद्रोहीहरूलाई पनि आक्रमण गर्ने आदेश दिइसकेका छन्।

ह्वाइट हाउसले ट्रम्पको तालिकामा यो कार्यक्रमलाई ‘युद्ध विभागलाई टिप्पणी’ भनेर उल्लेख गरेको छ। गत हप्ता पत्रकारसँग कुरा गर्दा ट्रम्पले यसलाई ‘उत्कृष्ट अवसर’ भन्दै जनरल र एडमिरलहरूसँग प्रत्यक्ष संवाद गर्न पाउनुमा पेन्टागन प्रमुख पिट हेग्सेथको प्रशंसा गरेका थिए।

उपराष्ट्रपति जे.डी. भान्सले यो बैठकलाई असामान्य होइन भनेर स्पष्ट पारे भने पेन्टागनका प्रवक्ता सीन पार्नेलले हेग्सेथले आफ्ना वरिष्ठ अधिकारीलाई सम्बोधन गर्ने मात्रै जानकारी दिए।

पेन्टागनभित्रको हलचल

यो बैठकमा एक–तारा वा सोभन्दा माथिका पदाधिकारीहरू भेला हुने भएकाले ठूला निर्णय वा घोषणाबारे अड्कलबाजी बढेको छ।

मे महिनामा हेग्सेथले सेनामा जनरल र फ्ल्याग अफिसरको सङ्ख्या कम्तीमा २० प्रतिशत घटाउने आदेश दिएका थिए। यसअघि फेब्रुअरीमा पेन्टागनले नागरिक कर्मचारीमा पाँच प्रतिशत कटौती गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चाल्र्स ‘सीक्यु’ ब्राउनसहित थुप्रै उच्च अधिकारीलाई हटाइसकेका छन्। यस वर्ष मात्र नौसेना, तटरक्षक, राष्ट्रिय सुरक्षा एजेन्सी, डिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुख, वायुसेनाका उप प्रमुख, नाटोमा नियुक्त एडमिरल र तीन जना वरिष्ठ सैन्य वकिल बर्खास्त भइसकेका छन्।

यता अमेरिकी सेनाले यो वर्षको सुरुमा इरान समर्थित यमनका हुथी विद्रोहीमाथि दुई महिनासम्म आक्रमण गरिसकेको छ र तेहरानका तीन प्रमुख आणविक केन्द्रहरूलाई समेत निशाना बनाएको थियो।

अमेरिकाभित्र भने लस एन्जलस र वासिङ्टन डीसीमा सेना तैनाथ गरिएको छ। यसलाई ‘नागरिक अशान्ति र अपराध नियन्त्रण’ नाम दिइएको छ। यस्तै कदम अन्य केही सहरमा पनि चाल्ने तयारी भइरहेको छ।