दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु
- १४ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- दसैँको भीडमा गाउँघर फर्कन हतारिनेहरूका लागि हवाई टिकट ठूलो टाउको दुखाइ बनेको छ। प्रायः सबै एयरलाइन्सको गन्तव्य टिकट एक महिनाअघि नै बुकिङ भइसकेकाले अहिले यात्रुहरूले महँगो तिरेर पनि सीट पाउन मुस्किल परेको छ।
धनगढी जाने यात्रुलाई १७ हजारभन्दा बढी तिर्नुपर्छ भने विराटनगर जाने भाडा करिब ९ हजार ७०० पुगेको छ। धनगढीकी निशा पाण्डेले निकै दिन दौडधुप गरेर मात्रै टिकट पाउन सकिन्। विराटनगरतर्फ लागेकी सङ्गीता सापकोटा भने टिकट नपाएपछि बसमै गन्तव्य हिँडेकी छन्।
यात्रुको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयरलाइन्सलाई पटक–पटक भाडा घटाउन निर्देशन दिएको छ। तर, वायुसेवा कम्पनीहरूले इन्धनको महँगो मूल्य, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण सस्तो गर्न नसकिएको दाबी गरेका छन्।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सरकारले न्यूनतम र अधिकतम भाडा तोकेको छ। एयरलाइन्सले तोकिएको सीमा भित्रमात्र टिकट बिक्री गर्न पाउँछन्। उदाहरणका लागि काठमाडौँ–विराटनगरको भाडा रु ५१०० देखि रु ९७०० बीचमा निर्धारण हुन्छ। यसभन्दा बढी लिन गैरकानुनी हुन्छ।
उनले भने, “समस्या हरेक वर्ष दोहोरिन्छ। उडान चाप बढ्दा सिट क्षमता पर्याप्त हुँदैन। कानुनी हिसाबले हामीले एयरलाइन्सलाई कम मूल्यमा टिकट बेचना बाध्य गराउन सक्दैनौँ। समाधानका लागि इन्धनमा सहुलियत र करमा छुट दिनुपर्ने हुन्छ।”
उडान संख्यामा पनि दबाब देखिएको छ। सामान्यतया त्रिभुवन विमानस्थल हुँदै दैनिक करिब ३५० उडान हुने गरेकामा अहिले ४५० भन्दा बढी उडान भइरहेका छन्। आन्तरिकमा मात्र दैनिक १६० हाराहारी उडान भइरहेको छ।
एयरलाइन्स संघका अध्यक्ष मनोज कार्कीका अनुसार कम्पनीहरूले तोकिएको भन्दा बढी भाडा लिएका छैनन्। तर यात्रुको एकतर्फी चाप र फर्किने सीट खाली हुने भएकाले केही गन्तव्यमा भाडा उच्च देखिएको उनको भनाइ छ।
विशेषज्ञहरू भन्छन्, नीतिगत सुधार बिना हरेक वर्ष दसैँमा यात्रु र वायुसेवा दुवै मर्कामा पर्नु स्वाभाविक हो।