२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

सामाजिक सञ्जालमार्फत मौसमी सूचना सहज

सामाजिक सञ्जालमार्फत मौसमी सूचना सहज

काठमाडौँ-  जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्न थालेपछि नागरिकलाई मौसम र बाढीबारे जानकारी लिन सहज भएको छ ।

‘नेपाल वेदर फोरकाष्ट’ र ‘नेपाल बाढी सूचना’ नामका फेसबुक पेजमार्फत नियमित सूचना दिइँदै आएको छ । यी पेजमा वर्षा, बाढी र मौसमी चेतावनीसँगै जनचेतनामूलक सामग्री पनि राखिन्छ ।

हाइड्रोलोजिष्ट इञ्जिनियर जिङ्की भुसालका अनुसार बाढीको सम्भावनाबारे दृश्यसहित जानकारी दिने गरिएको छ । सूचना अधिकारी दिनकर कायस्थले युट्युव, टिकटक र ट्विटरमार्फत पनि नियमित जानकारी सार्वजनिक भइरहेको बताए ।

विभागको निष्कर्षअनुसार सामाजिक सञ्जालले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सामाजिक सञ्जालको सक्रिय उपयोग गरिरहेको छ ।