२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

भक्तपुरमा महानवमीका दिन तलेजु भवानी मन्दिर खुला, दर्शनार्थीहरूको घुइँचो

भक्तपुरमा महानवमीका दिन तलेजु भवानी मन्दिर खुला, दर्शनार्थीहरूको घुइँचो

काठमाडौं – भक्तपुरको ऐतिहासिक र धार्मिक आस्थाको केन्द्र तलेजु भवानी मन्दिर आज बिहानैदेखि दर्शनका लागि खुला गरिएको छ। हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुलाइन्छ। महानवमीकै दिन तलेजु भवानी प्रकट हुने विश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको भीड लाग्ने परम्परा रहँदै आएको छ।

सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र कुदृष्टिले हेरेपछि देवी हराएको भन्ने किंवदन्ती छ। पछि राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षमा एकपटक मात्र आउने वचन दिएको र त्यसैबेलादेखि महानवमीका दिन प्रकट हुने विश्वास रहेको धार्मिक इतिहासमा उल्लेख पाइन्छ।

यस्तै अर्को किंवदन्तीअनुसार देवी तलेजु बालिकाको शरीरमा कुमारीको रूपमा प्रकट भएको विश्वास गरिन्छ। भक्तपुरबाट सुरु भएको कुमारीपूजाको चलन पछि काठमाडौँ र ललितपुरमा पनि विस्तार भएको तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए। विजयादशमीका दिन जीवित देवी कुमारीबाट टीका थाप्ने परम्परा यसैसँग सम्बन्धित मानिन्छ।

राँगो दौडाउने जात्रा सम्पन्न

महाअष्टमीको रात मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा पनि सम्पन्न भएको छ। महिषासुरको प्रतीक मानिने राँगोलाई व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायर पुर्‍याई तलेजुमा कालरात्री पूजा गरिएको थियो।

जात्राका क्रममा बाटोको दुवै छेउमा स्थानीयहरूले सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने परम्परा रहँदै आएको छ। दरबार स्क्वायरमा पुगेपछि पूजारीले आदेश दिई राँगोलाई मूलचोक पुर्‍याएर तलेजुमा कालरात्री मनाइएको नाइके जोशीले जानकारी दिए।

यस अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिई कालरात्री मनाइएको हो। गुठी संस्थान कार्यालयको व्यवस्थापनअनुसार यो बलि दिने परम्परा वर्षौदेखि निरन्तर चल्दै आएको छ।