२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेसले दण्डहीनता प्रवर्द्धन र प्रतिशोधको राजनीतिमा लाग्न नहुने आग्रह गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले असोज ९ मा निकालेको सूचनाबाट संविधानवाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठेको जनाए। विज्ञप्तिमा भनिएको छ कि प्रमाणसहित फेला परेका अपराधीहरूलाई उन्मुक्ति दिइने नीति नेपाली जनताले स्वीकार्न नसक्ने विषय हो।

पौडेलले भदौ २३–२४ को घटना शान्तिपूर्ण प्रदर्शनकै ढाँचा खेलाएर हिंसात्मक आपराधिक समूहले राष्ट्रव्यापी तोडफोड, आगजनी र लुटपाट गरेको र त्यसले सुरक्षाकर्मीसमेत ७६ भन्दा धेरैको ज्यान गएको उल्लेख गरे। कांग्रेसले घटनाको न्यायिक छानबिन आयोग गठनलाई स्वागत गर्दै सो आयोगले निष्पक्ष र पारदर्शी छानबिन गर्नु पर्ने जोड पनि दिएको छ।

विज्ञप्तिमा भनिएको छ कि गृह मन्त्रालयको सूचनाले प्रदर्शनीको आवरणमा गरिएको योजनाबद्ध हिंसाका आरोपीलाई छुट दिने संकेत आएको र यसले पीडितलाई थप आशङ्कित बनाएको हुनाले आयोगलाई क्षेत्राधिकारविहीन कार्य गर्न नदिइनु पर्ने अनुरोध गरिएको छ।