विजयादशमीका अवसरमा माओवादी केन्द्र संयोजक प्रचण्डको शुभकामना
- १५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयादशमी २०८२ का अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
सोमबार जारी शुभकामना सन्देशमा उनले दशैंलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाउन आह्वान गरेका छन्।
सन्देशमा उनले नेपालको वर्तमान जटिल राजनीतिक परिस्थितिमा संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता विषय पुनः मुखरित भइरहेको उल्लेख गर्दै त्यसलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नुपर्ने बताए।
उनले जनयुद्धदेखि संविधान कार्यान्वयनसम्म माओवादीले निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै, हालको तरल अवस्थालाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउने प्रतिबद्धता जनाए।
जेन–जी पुस्ताका मागलाई समर्थन गर्ने बताउँदै उनले पार्टीभित्र संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु भइसकेको जानकारी दिए। यही सन्दर्भमा मंसिरमा विशेष महाधिवेशनमार्फत युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी भइरहेको पनि उनले बताए।
प्रचण्डले दशैं लगायतका पर्वहरूले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै राष्ट्रिय एकता र अग्रगमनका संकल्पसहित पर्व मनाउन आग्रह गरे।