दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन, व्यापारमा अपेक्षाकृत कमी
- १५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- दसैँको अवसर पारेर असोज १३ गतेदेखि तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन् । तर, बिदाको समय भए पनि तीनै चलचित्रले अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन्।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपअनुसार दुई दिनको व्यापारमा ‘बलिदान’ ले सबैभन्दा धेरै रु १ करोड ५ लाख ६५ हजार संकलन गरेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतको अभिनय छ।
त्यस्तै, दीपेन्द्रकुमार खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ ले दुई दिनमा रु ५९ लाख ५८ हजार व्यापार गरेको छ। हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुर लाई चलचित्रमा पुनः जीवित पारिएको छ, जहाँ स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की लगायत कलाकारले अभिनय गरेका छन्।
यसैगरी, रोहित अधिकारी निर्मित र मिलन तामाङ निर्देशित ‘माइतीघर’ ले दुई दिनमा रु ३८ लाख ६३ हजार संकलन गरेको छ। यसमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर र प्रकाश सपुतले अभिनय गरेका छन्।
चलचित्रकर्मीहरूको भनाइअनुसार पछिल्ला वर्षहरूमा दशैंमा नेपाली चलचित्रको व्यापार बढ्दै आएको छ। बिदाको समय परिवारसहित हलमा दर्शक आकर्षित हुने भएकाले चाडपर्व लक्षित प्रदर्शन गर्ने क्रम बढेको छ।