२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

वाशिङ्टन- अमेरिकामा मध्यरात बजेसँगै कोषसम्बन्धी अस्थायी विधेयक पारित हुन नसकेपछि संघीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो ।

दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग रहेका छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डेमोक्रेटहरूले आवश्यक सहुलियत बिना कुनै प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेका छन् ।

डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोषारोपण गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “महिनौँसम्म जनताको जीवन कठिन र महँगो बनाएपछि, डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले अब संघीय सरकार बन्द गराएका छन् किनभने उहाँहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न चाहँदैनन् ।”

यस बन्द कति समयसम्म रहने भन्नेबारे अझै अनिश्चितता रहेको छ । सिनेटमा भोलि बिहान पुनः रिपब्लिकनहरूले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ । आवश्यक समर्थन नआएसम्म प्रस्तावलाई दैनिक रूपमा मतदानका लागि ल्याइने रिपब्लिकन नेताहरूको भनाइ छ ।

सरकारी बन्दका कारण लाखौँ संघीय कर्मचारी ‘अवकाश’ मा पठाइनेछन् । आवश्यक सेवामा खटिनेहरू भने काममा रहनुपर्ने भए पनि तलब गतिरोध अन्त्य नभएसम्म रोकिनेछ । तर, केही कर्मचारी भने निरन्तर तलब पाउनेछन्, किनभने उनीहरूको जागिर प्रत्यक्ष रूपमा वार्षिक विनियोजनबाट वित्तपोषित हुँदैन ।

सामान्यतया, जीवनरक्षा, सुरक्षा तथा आपत्कालीन कार्यहरू जारी रहनेछन् । अघिल्ला बन्दका अनुभवले अध्यागमन सुनुवाइ स्थगित गर्ने, घर खरिदकर्ता र साना व्यवसायीलाई संघीय ऋण उपलब्ध गराउन ढिलाइ गर्ने लगायतका असर देखाएका थिए ।