राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै ‘आक्रमण’ हुने चेतावनी, खतरनाक सहरहरूलाई सैन्य प्रशिक्षण मैदान बनाउन सुझाव
- १५ अशोज २०८२
- १ मिनेटको पढाई
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै आक्रमणको सम्भावना रहेको चेतावनी दिएका छन् । उनले यस्ता शत्रु वर्दी नलगाउने भएकाले पत्ता लगाउन गाह्रो हुने बताएका छन् ।
भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्र्स बेसमा सैन्य अधिकारीलाई सम्बोधन गर्दै ट्रम्पले भित्री सहरहरूलाई सुरक्षा चुनौतीको रूपमा चित्रण गरे । उनले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक सहरलाई सेना तथा नेसनल गार्ड प्रशिक्षण मैदान बनाउन सुझाव दिएका छन् ।
“हाम्रा भित्री सहरहरू युद्धको ठूलो हिस्सा बनेका छन् । चाँडै शिकागो जाँदैछौँ”, ट्रम्पले भने ।
ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई असुरक्षित क्षेत्र भन्दै तिनीहरूलाई एक–एक गरेर समाधान गर्ने प्रतिबद्धता जनाए ।
यसअघि उनले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको र क्षेत्र सुरक्षित बनेको दाबी गरेका थिए ।
अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।