२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा

लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको घोषणा गरेका छन । भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गामाथि आक्रमणपछि कंग्रेसलाई पठाइएको सूचनामा यो कदमबारे जानकारी दिइएको छ ।

पेन्टागनको नोटअनुसार, कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूह र आतङ्कवादी संगठनको दर्जा दिइएको छ । कम्तीमा तीन आक्रमणमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई सुरक्षा दिन अन्तर्राष्ट्रिय कानुनअनुसार कदम चालेका छन भनिन् । तर कानुनी विज्ञहरूले यो कदम विवादास्पद रहेको टिप्पणी गरेका छन ।

यसैबीच, भेनेजुएलाले आफ्नो तट नजिकै अमेरिकी लडाकु विमान अवैध घुसपैठ गरेको दाबी गर्दै कडा आपत्ति जनायो । रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले यसलाई उक्साहट र राष्ट्रिय सुरक्षामा खतराको संज्ञा दिए ।

गत महिनादेखि अमेरिकाले पोर्टो रिकोमा १० वटा एफ–३५ लडाकु विमानसहित क्यारिबियन क्षेत्रमा आठ युद्धपोत र एक आणविक पनडुब्बी तैनाथ गरेको छ ।

राष्ट्रपति निकोलस मदुरोले अमेरिकी कदमलाई भेनेजुएलामा शासन परिवर्तन गर्न गरिएको प्रत्यक्ष हस्तक्षेपको उदाहरण भन्दै विरोध जनाए ।