अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग दुई दिनका लागि बन्द
- १८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – अविरल वर्षा र हिमपातको सम्भावना बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा शनिबार र आइतबारका लागि भ्रमण रोक लगाइएको छ ।
वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पर्यटकको सुरक्षाका लागि अस्थायी रूपमा प्रवेश रोकिएको हो । वर्षा र हिमपातका कारण दुर्घटनाको जोखिम देखिएको उनले बताए ।
दसैं बिदासँगै दैनिक सय जना हाराहारीका पर्यटक पुग्दै आएका अन्नपूर्ण क्षेत्रका अन्य पदमार्गहरूमा पनि प्रशासनले सावधानी अपनाउन र भ्रमण नगर्न आग्रह गरेको छ ।
यस्तै, बेनी–जोमसोम सडक खण्डमा पनि साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको चेतावनी जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।