राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउन प्रयोग गरिनेछ : प्रधानमन्त्री कार्की
- १८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले विपद्का बेला नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत प्रयोग गरिने बताएकी छन्।
देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण राज्यका सबै निकाय परिचालन गरिएको र सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन्।
उनका अनुसार जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षा हुने अनुमान गरेको छ। उनले भनिन् —
“हामी बाढी, पहिरो र कटानको उच्च जोखिममा छौँ। धेरै ठाउँमा पहिरोको सम्भावना छ। सरकारी निकाय उद्धार र राहतका लागि २४ सै घण्टा लागेका छन्।”
प्रधानमन्त्रीले आवतजावत नगर्न, सवारीसाधन नचलाउन र जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेकी छन्।
जोखिमकै कारण सरकारले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको उनले जनाएकी छन्।