सुनसरीमा बाढीले सयौँ घर डुबानमा
- १९ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – लगातार वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ। बाढीका कारण करिब १,०३६ घर डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले खोलानाला बढेपछि धेरै बस्तीहरूमा बाढी पसेको बताए। डुबानमा परेका अधिकांश परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
भोक्राहा नरसिंह–५ मा करिब ३०० घर, बराहक्षेत्र–८ मा १६० घर, र इनरुवा–१० जाल्पापुरमा ३०० भन्दा बढी घर प्रभावित भएका छन्। इनरुवा–४, ८, ९, १० र रामधुनी–६, ७ मा पनि केही घर डुबानमा परेका छन्।
खतिवडाले भने, “धेरैजसो सुकुम्बासी बस्ती डुबानमा परेका छन्, तर पूरै विस्थापित हुने गरी होइन। सुरक्षा निकाय निरन्तर निगरानीमा छन्।”
बाढीले जानोद्दय आधारभूत विद्यालय र कार्डियो न्युरो अस्पताल समेत प्रभावित भएका छन्। अस्पताल डुबानमा परेपछि सशस्त्र प्रहरीले डुङ्गामार्फत चिकित्सकलाई अस्पतालभित्र पुर्याएको छ।
बराहक्षेत्र–८ का ४५ वर्षीय नवराज उरावलाई दोभान खोलाले बगाएको छ, खोजी कार्य जारी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह र अन्य निकाय उद्धार तथा राहतमा सक्रिय छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने र राहत वितरण कार्य जारी छ।
यसैबीच धरान–भेडेटार सडकखण्डमा गएको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको छ।