२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

काभ्रेको चार गाउँपालिका बाढीपहिराले ठप्प, सडक र विद्युत् सेवा अवरुद्ध

काभ्रेको चार गाउँपालिका बाढीपहिराले ठप्प, सडक र विद्युत् सेवा अवरुद्ध

काठमाडौं – गत शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षापछि आएको बाढीपहिराले यहाँका चार स्थानीय तह — खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका – का सडक र विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्।

विद्युत् सेवा बन्द हुँदा कतिपय ठाउँमा सञ्चारसमेत ठप्प छ भने सडक अवरुद्ध भएकाले आवागमन केही दिन रोकिएको छ।

विशेषगरी महाभारत र खानीखोला गाउँपालिका जाने सडकहरू धेरै ठाउँमा बगाएका छन्। स्थानीय जनप्रतिनिधीका अनुसार ती सडक खुल्न कम्तीमा हप्ता दिन लाग्नेछ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका भनाइमा, गाउँपालिकाको कार्यालय र वडातर्फ जाने सबै सडक क्षतिग्रस्त छन् र विद्युत् पनि बन्द भएको छ।

रोशी गाउँपालिका का सडकहरूमा अस्थायी डाइभर्सन बगाएपछि आवागमन रोकिएको छ। अध्यक्ष दिनेश लामाका अनुसार केही ठाउँमा आंशिक रूपमा विद्युत् सेवा सुचारु गर्ने तयारी भइरहेको छ।

त्यसैगरी बेथानचोक गाउँपालिकामा पनि मुख्य सडक अवरुद्ध भएको छ। स्थानीय जनप्रतिनिधी र मेसिनको सहयोगमा सडक खुलाउने काम भइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताएका छन्।

जिल्लामा हालसम्म दुई जनाको मृत्यु भएको र पूर्वाधारसँगै निजी सम्पत्तिमा ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ।