२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

देशभरका ५७ सयभन्दा बढी कैदी अझै फरार

देशभरका ५७ सयभन्दा बढी कैदी अझै फरार

काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये झण्डै ५,७०० कैदीबन्दी अझै फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ८,५१० कैदी र ३४१ बालबन्दी कारागार फर्किएका छन्, तर ५,०७९ कैदी र ६१८ बालबन्दी गरी कूल ५,६९७ बन्दी अझै समातिएका छैनन्।

गत असोज १० गते गृह मन्त्रालयले फरार बन्दीहरूलाई सोमबारसम्म स्वेच्छाले फर्कन ‘अल्टिमेटम’ दिएको थियो। धेरैजसो नफर्किएपछि सरकारले विशेष खोजी अभियान चलाइरहेको छ। सुरक्षाकर्मीहरूले नियन्त्रणमा परेका बन्दीलाई सम्बन्धित कारागारमा बुझाउने काम जारी छ।

फरार बन्दीहरूलाई खोजी र पक्राउ गर्नका लागि जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदलहरू गठन गरिएका छन्।

जेनजी प्रदर्शनको मौका पारेर २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट करिब १४ हजार ५५३ बन्दी भागेका थिए। भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो।

सरकारले सबै फरार बन्दीलाई तुरुन्तै कारागार फर्किन चेतावनी दिएको छ, अन्यथा कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।