२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको छ।

जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको हो। आयोगले मिति घोषणा भएको १५० दिनअघि पूर्ण कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगका अनुसार राजनीतिक दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म गरिनेछ। प्रत्यक्ष प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना गरिनेछ भने निर्वाचन प्रचारप्रसार फागुन ३ देखि १८ गतेसम्म चल्न पाउनेछ। त्यसपछि कुनै पनि प्रचार गतिविधि गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ। मतदानपछि सोही दिनदेखि मतगणना सुरु गरिनेछ।

समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मङ्सिर १५ गते स्थापना गरिनेछ र बन्दसूची पुस १८ र १९ गते पेश गर्नुपर्नेछ।

आयोगले कार्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने जनाएको छ। त्यस्तै, संशोधित ऐनअनुसार मतदाता नामावली सङ्कलन पनि कार्तिक ३० गतेसम्म जारी रहने छ।

आयोगका अनुसार विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका नागरिक मतदानका लागि योग्य हुनेछन्। नागरिकले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन्।

आयोगले ‘मतदान सामग्री व्यवस्थापन मार्गदर्शन २०७८’ अनुसार मतदान केन्द्रमा ६२ प्रकारका सामग्री आवश्यक पर्ने बताएको छ। तीमध्ये मतपेटिका, मतपत्र, सियो, मसी र मतदाता नामावली प्रमुख हुन्।

आयोगका अधिकारीका अनुसार यसपटकको निर्वाचनका लागि आवश्यक ४३, ८० र ८५ लिटर क्षमताका मतपेटिका पर्याप्त मात्रामा उपलब्ध छन्।

प्रधानमन्त्री कार्कीले निर्धारित समयसीमाभित्रै निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पने प्रतिबद्धता व्यक्त गरेकी छन्।