२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूयोर्कमा ‘सबवे सर्फिङ’ रोकिएन, दुई किशोरीको मृत्युपछि कार्यवाहीको माग तीव्र

न्यूयोर्कमा ‘सबवे सर्फिङ’ रोकिएन, दुई किशोरीको मृत्युपछि कार्यवाहीको माग तीव्र

न्यूयोर्क- न्यूयोर्क सिटीमा पुनः दुई किशोरीको सबवे ट्रेनको छतमा खेल्दै मृत्यु भएपछि “सबवे सर्फिङ” रोक्न माग तीव्र बनेको छ। शनिबार बिहान १२ र १३ वर्षका दुई बालिकाको शव ब्रुकलिनतर्फ गइरहेको ट्रेनको माथि फेला परेपछि अधिकारीहरूले यसलाई घातक लापरवाहीको रूपमा वर्णन गरेका छन्।

MTA (Metropolitan Transportation Authority) का अध्यक्ष डेमेट्रियस क्रिचलोले भने, “सबवे ट्रेनको छतमा चढ्नु कुनै खेल होइन — यो आत्मघाती कदम हो।”

यसअघि १५ वर्षीय काभन उडन सन् २०२२ मा यस्तै ‘सर्फिङ’ खेल्ने क्रममा मृत्यु भएका थिए। उनका आमाले भनेकी छन्, “मेरो छोरा मरेपछि पनि किन अरू बालबालिका मर्नुपर्‍यो ? अधिकारीहरूले केही ठोस कदम चाल्न सकेनन्।”

गत वर्ष मात्र ६ जनाको सबवे सर्फिङका कारण मृत्यु भएको र पाँच जनाको ज्यान अघिल्लो वर्ष गइसकेको NYPD को तथ्यांकले देखाउँछ। अधिकांश पीडित किशोर हुन्।

अधिकारीहरूले विभिन्न सचेतना अभियान, ड्रोन निगरानी र र्यापर कार्डी बी सम्मको सहयोगमा सार्वजनिक सन्देश अभियान चलाए पनि समस्या झन् गहिरिँदो छ। MTA ले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘सबवे सर्फिङ’ लाई रोमान्टिक बनाउने भिडियो हटाउन आग्रह गरेको छ। अहिलेसम्म १,८०० भन्दा बढी यस्ता भिडियो हटाइएका छन्।

इन्जिनियर र विज्ञहरूले ट्रेनको छतमा पुग्न कठिन बनाउने प्रविधि वा सेन्सर जडान गर्न सुझाव दिएका छन्। तर खर्च र प्राविधिक चुनौतीका कारण तत्काल समाधान कठिन भएको जनाइएको छ।

सहरका विद्यालयका करिब ३ लाख विद्यार्थी दैनिक सबवे प्रयोग गर्ने हुँदा अभिभावक, शिक्षक र अधिकारी सबैले सचेतना र सुरक्षा उपाय सुदृढ गर्न माग गरेका छन्।