काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सरकारलाई पूर्णता दिने गृहकार्य अघि बढाएकी छन्। दुई चरणमा मन्त्रिपरिषद् विस्तार गरे पनि सरकारले अझ पूर्णता पाएको छैन। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले यही हप्ताभित्र मन्त्रिपरिषद् पूर्णता दिने तयारी गरेकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा पर्यटन क्षेत्रका विज्ञसमेत रहेका व्यवसायी मिङ्मा डेविट शेर्पालाई सिफारिस गरिएको छ। जेन–जी समूहले पर्यटन मन्त्रीमा शेर्पालाई नियुक्त गर्न सुझाव दिएपछि प्रधानमन्त्री कार्कीले उनलाई मन्त्री बनाउने तयारी गरेकी हुन्। तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा शेर्पालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।
छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारीसहित प्रधानमन्त्री बनेकी कार्कीले निर्वाचनसँगै भूकम्पले ध्वस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने चुनौतीसमेत सामना गर्नुपरेको छ। त्यसैले उनले सम्बन्धित क्षेत्रका विज्ञहरूलाई मन्त्री बनाउने नीति लिएकी हुन्।
दुई चरणमा सात जना मन्त्रीलाई जिम्मेवारी दिएकी कार्कीले बाँकी मन्त्रालयहरूमा पनि सोही नीति अनुसार विज्ञहरूलाई ल्याउने तयारी गरेकी छन्। अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा मन्त्रीमा नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक, गृह तथा कानुन मन्त्रालयमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिलामा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमा मदन परियार, र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेललाई जिम्मेवारी दिइसकिएको छ।
नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षसमेत रहेका शेर्पालाई पर्यटन मन्त्री बनाउन जेन–जी समूहबाट पहल गरिएको बताइएको छ। युवा र पर्यटन क्षेत्रलाई सशक्त बनाउन सक्ने भिजन भएका शेर्पालाई मन्त्री बनाउनुपर्ने सुझाव समूहले प्रधानमन्त्रीलाई दिएको हो।
शेर्पा भन्छन्, “म पदका लागि मरिहत्ते गर्ने व्यक्ति होइन, तर अहिलेसम्म सबै जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्दै आएको छु। देश र जनताको सेवाको अवसर पाए इमान्दारिताका साथ भूमिका निर्वाह गर्नेछु।”
शेर्पाको कम्पनीले सगरमाथा आरोहण गर्न चाहनेलाई सातै महादेशमा तालिम दिएर नेपाल ल्याउने गर्छ। उनी सन् २०१० देखि पर्यटन क्षेत्रमा सक्रिय छन्। ताप्लेजुङका शेर्पाले पहिलो पटक कञ्चनजङ्गा हिमाल आरोहणमा भरियाका रूपमा पर्यटन व्यवसायमा प्रवेश गरेका थिए। हालसम्म उनले ८ हजार मिटरभन्दा माथिका हिमाल ३५ पटक सफलतापूर्वक आरोहण गरिसकेका छन्।
उनका पाँच वटा विश्व कीर्तिमान गिनिज बुकमा दर्ता छन्। उनले छोटो अवधिमा सगरमाथा र केटु हिमाल आरोहण, सबैभन्दा कान्छो उमेरमा ८ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण, जाडो याममा केटु आरोहण, र पाँच पटकभन्दा बढी केटु आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।
शेर्पा सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनले १०० भन्दा बढी उद्धार कार्यमा सहभागिता जनाएका छन्। ती उद्धार अभियानमाथि प्राइम भिडियोमा ६ वटा सिरिज निर्माण भएका छन्। नेटलिफ्क्सको चर्चित डकुमेन्ट्री फोटिन पिक्समा उनले सिनेमाटोग्राफी गरेका छन् भने फाइन्डिङ माइकल नामक फिल्ममा प्रमुख उद्धारकर्ताको भूमिकामा देखिन्छन्।
त्यस्तै, सगरमाथामा सुटिङ गरिएको द च्यालेन्जर रियालिटी शोमा उनी एक्सपिडिसन लिडरका रूपमा देखिएका छन्। शेर्पाको कम्पनीले नेपालमै वार्षिक ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। सगरमाथा क्षेत्रमा उनले सिएसआर अन्तर्गत ‘पोर्टर हाउस’ निर्माण गरेका छन्, जसको क्षमता करिब १०० जनाको छ। सो परियोजना निर्मल पुर्जाको निर्मल दाइ फाउन्डेसनमार्फत सञ्चालन गरिएको हो।
सगरमाथा सरसफाइ अभियानमा पनि शेर्पाको सक्रियता रहँदै आएको छ। साहसिक पर्यटन प्रवर्द्धनमा उनको योगदान उल्लेखनीय मानिन्छ। हालै उनी बेलायतमा आयोजित कञ्चनजङ्गा आरोहणको ५० वर्षपूर्तिका कार्यक्रममा प्रमुख वक्ता बनेका थिए, जहाँ राजकुमार समेत उपस्थित थिए।
शेर्पा भन्छन्, “नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभर पुर्याउनु अहिले मेरो पहिलो प्राथमिकता हो।”
प्रधानमन्त्री कार्कीले अब बाँकी मन्त्रालयहरूमा पनि विज्ञहरूलाई जिम्मेवारी दिने तयारी अघि बढाएकी छन्।