गाजा सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने
- २४ अशोज २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीचको गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट जाने प्रयास गर्ने बताएका छन्।
अमेरिकी क्याबिनेट बैठकमा ट्रम्पले भने, “हामी त्यहाँ पुग्ने प्रयास गर्दैछौँ। गाजामा युद्ध अन्त्य गर्नका लागि यो सही समय हो।”
उनका अनुसार प्यालेस्टाइन क्षेत्रमा रहेका बन्धकहरू सोमबार वा मङ्गलबारसम्म रिहा हुनेछन्, र सम्झौतासँगै “गाजामा युद्ध समाप्त हुनेछ”।
इजरायली मन्त्रीपरिषद् पनि सम्झौताको अनुमोदन गर्न तयारीमा छ, जसअन्तर्गत सेना गाजाबाट फिर्ता हुने र सयौँ प्यालेस्टिनी कैदीहरू रिहा गरिनेछ। सम्झौताले संयुक्त राष्ट्रसंघले घोषणा गरेको भोकमरीको संकट समाधान गर्न मानवीय सहायता बढाउने व्यवस्था पनि गरेको छ।
इजरायली सेनाले फिर्तीको तयारी थालेको बताइएको छ।
ट्रम्पको योजनामा हमासको निशस्त्रीकरण र गाजामा अमेरिकी नेतृत्वमा सङ्क्रमणकालीन प्रशासन स्थापना गर्ने प्रस्ताव पनि समावेश छ, तर यी बुँदाहरूमा अझै छलफल जारी छ।
हमास स्रोतका अनुसार सम्झौताको पहिलो चरणमा २० जीवित इजरायली बन्धकहरूको बदलामा करिब २,००० प्यालेस्टिनी कैदीहरू रिहा गरिनेछन्।