२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्ककी एटर्नी जनरल लेटिसिया जेम्समाथि बैंक ठगीको अभियोग

न्यूयोर्ककी एटर्नी जनरल लेटिसिया जेम्समाथि बैंक ठगीको अभियोग

न्यूयोर्क- भर्जिनियास्थित संघीय ग्र्यान्ड ज्युरीले न्यूयोर्ककी एटर्नी जनरल लेटिसिया जेम्समाथि बैंक ठगी र वित्तीय संस्थालाई झूटो विवरण दिएको अभियोग लगाएको छ।

संघीय अभियोजक लिन्ड्से ह्यालिगनका अनुसार जेम्समाथि प्रत्येक मुद्दामा ३० वर्षसम्मको जेल सजाय र १० लाख डलरसम्मको जरिवानाको प्रावधान छ।

ह्यालिगनले भनिन्, “कुनै पनि व्यक्ति कानुनभन्दा माथि छैन। यो मुद्दाले जनताको विश्वासमा गरिएको गम्भीर विश्वासघात देखाउँछ।”

तर जेम्सले यी आरोपलाई अस्वीकार गर्दै यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक प्रतिशोध भनेकी छिन्। उनका अनुसार ट्रम्पले आफूविरुद्ध मुद्दा चलाउन अस्वीकार गर्ने अमेरिकी अभियोजकलाई हटाई आफ्नो नजिकका व्यक्तिलाई राखेका हुन्।

जेम्सले भनिन्, “हामीले ट्रम्प र उनको कम्पनीविरुद्ध गरेको अनुसन्धान प्रमाण र कानुनमा आधारित थियो, राजनीति होइन। अदालतहरूले पनि त्यसलाई पुष्टि गरेका छन्।”

गत वर्ष ट्रम्प अर्गनाइजेशनविरुद्धको धोखाधडी मुद्दा जितेपछि न्याय विभागले जेम्समाथि बन्धक ठगीको अनुसन्धान थालेको थियो। उनीमाथि सम्पत्ति खरिदका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ।

जेम्सले भने आफूले कुनै पनि गलत काम नगरेको बताउँदै फारम भर्दा भएको सानो त्रुटि सुधारिएको जनाएकी छन्।

यसबीच, डेमोक्रेटिक सिनेटर चक सुमरले ट्रम्पमाथि “न्याय विभागलाई आफ्ना राजनीतिक विरोधीहरूलाई निशाना बनाउन प्रयोग गरेको” आरोप लगाएका छन्। न्यूयोर्ककी राज्यपाल क्याथी होकुलले पनि यसलाई न्याय विभागको हतियारकरण भनेकी छन्।