बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पुर्याइयो
- २४ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं- दमौली शुक्लागण्डकी–४ मा जिपको ठक्करबाट घाइते बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ।
घाइतेको नाम र ठेगाना नखुलेको छ। उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् आश्रम पुर्याइएको हो।
उद्धारको काम युवा अभियन्ता शङ्कर पन्तको समन्वयमा भएको थियो। पन्तले बताए,
“उहाँको नाम, ठेगाना थाहा छैन, बोल्दा पनि बोल्नुहुन्न। यत्तिकै बेबारिसे अवस्थामा छोड्नुभन्दा आश्रम लैजाने निधो गरेका छौँ।”
शुक्लागण्डकी नगरपालिकाले सिफारिसपत्र र एम्बुलेन्सको व्यवस्था गरिदिएको थियो।
हाल उक्त मानव सेवा आश्रममा १८२ जना आश्रय लिइरहेका छन्, जसमा शारीरिक, मानसिक अपाङ्गता भएका र बिरामीहरू पनि छन्।