२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

विपिन जोशीको अवस्था अझै अज्ञात, हमासको सूचीमा नाम नदेखिँदा परिवार थप चिन्तित

विपिन जोशीको अवस्था अझै अज्ञात, हमासको सूचीमा नाम नदेखिँदा परिवार थप चिन्तित

न्युयोर्क- इजरायल र हमासबीच युद्धविराम लागू भएपछि धेरैले आशा गरेका थिए- दुई वर्षअघि अपहरणमा परेका सबै बन्धक अब घर फर्किन्छन्। तर नेपाली विद्यार्थी विपिन जोशीको परिवारका लागि त्यो आशा फेरि अनिश्चिततामा हरायो।

हमासले सार्वजनिक गरेको नयाँ सूचीमा ४८ जना बन्धकको नाम छ। तीमध्ये २० जना जीवित, २६ जना मृत घोषित र २ जनाको अवस्था अज्ञात भनेर उल्लेख गरिएको छ। दुर्भाग्यवश, ती दुईमध्ये एक विपिन पनि हुन्।

२०२३ को अक्टोबरमा इजरायलमा अध्ययनरत विपिनलाई दक्षिण इजरायलको एउटा किब्बुत्ज (कृषि बस्ती) बाट जबरजस्ती अपहरण गरिएको थियो। सो दिन उनका १० जना नेपाली साथीहरू मारिएका थिए। त्यसपछि उनले जीवनका बारेमा कुनै समाचार बाहिरिएका छैनन्। भर्खरै बाहिरिएकाे एक भिडियो जुन २०२३ नोभेम्बरमा खिचिएको मानिन्छ। त्यो भिडियोमा विपिन थकित र डराएको अनुहारमा देखिन्थे, र स्पष्ट रूपमा हमासको नियन्त्रणमा थिए।

युद्धविरामको पहिलो चरणमा गाजामा रहेका सबै बन्धकहरूलाई सोमबारसम्ममा रिहा गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। तर हमासको सूचिमा विपिनको नाम नपर्दा उनको अवस्थाबारे अझै अनिश्चितता छ।

इजरायलका अनुसार, हमासले २५१ जनालाई अपहरण गरी गाजामा लगेको दुई वर्षभन्दा बढी भइसक्यो। अहिले पनि ४८ जना बन्धक गाजामै छन्, जसमा आधा भन्दा बढी (२६ जना) को मृत्यु पुष्टि भइसकेको छ। जीवित भनिएका सबै पुरूष हुन्- अधिकांश २० देखि ३० वर्ष उमेर समूहका। महिला, बालबालिका र वृद्धहरूलाई भने अघिल्ला युद्धविराम सम्झौताअन्तर्गत पहिल्यै रिहा गरिएको थियो।