२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ट्रम्पलाई अस्वीकार गरिनु ‘शान्तिमाथिको राजनीति’: ह्वाइट हाउस

ट्रम्पलाई अस्वीकार गरिनु ‘शान्तिमाथिको राजनीति’: ह्वाइट हाउस

वासिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार दिइएपछि र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले नर्वेको नोबेल समितिमाथि आलोचना गरेको छ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भने, “नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको फेरि प्रमाणित गर्‍यो।”

उनले थपे, “राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्दै युद्ध अन्त्य गर्ने र मानिसको ज्यान जोगाउने काम गर्नुभएको छ। उहाँसँग साँचो मानवतावादी मन छ, र उहाँजस्तो व्यक्ति अरू कोही छैन – जसले आफ्नो इच्छाशक्तिको भरमा ‘समस्याका पहाडहरू’ हटाउन सक्छ।”

ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि बारम्बार आफू विभिन्न द्वन्द्वहरू समाधान गर्न खोज्ने नेताका रूपमा नोबेल पुरस्कारका हकदार भएको दाबी गर्दै आएका छन्।

शान्ति पुरस्कार घोषणा हुनु अघि उनले हप्तादिनअघि गाजाको युद्धविराम सम्झौतामा मध्यस्थता गरेको उल्लेख गर्दै भनेका थिए, “उनीहरूले जे गरे पनि ठीक छ, मलाई थाहा छ – मैले यो पुरस्कारका लागि होइन, धेरै जीवन बचाउनका लागि गरेको हुँ।”

ओस्लोका केही नोबेल विज्ञहरूले भने ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलले सन् १८९५ मा स्थापना गरेको शान्ति पुरस्कारको आदर्शको विपरीत रहेको भन्दै उनलाई पुरस्कारको अवसर नै नहुने बताएका छन्।