२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

चिनियाँ राष्ट्रपति सीसँगको भेट आवश्यक नभएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, करवृद्धि गर्ने चेतावनी

चिनियाँ राष्ट्रपति सीसँगको भेट आवश्यक नभएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, करवृद्धि गर्ने चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसै महिना हुने भनिएको शिखर वार्ता अब आवश्यक छैन भनेर बताएका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखे, “चीनमा अहिले केही अनौठा कुरा भइरहेका छन्। उनीहरू धेरै शत्रुतापूर्ण बन्दै गएका छन्।”

उनको यो भनाइ चीनले दुर्लभ खनिजहरूको निर्यातमा नियन्त्रण लगाउने निर्णयपछि आएको हो, जुन आधुनिक प्रविधिका लागि निकै महत्त्वपूर्ण मानिन्छ।

ट्रम्पले भने, “दुई हप्तापछि दक्षिण कोरियामा हुने एपेक सम्मेलनमा सीसँग भेट्ने योजना थियो, तर अहिले त्यसो गर्नुको कुनै कारण देख्दिनँ।” उनले यो सन्देश वासिङ्टन नजिकको सैनिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाने अघि पठाएका थिए।

उनले थपे, “चीनलाई विश्वलाई ‘बन्धक’ बनाउन दिनु अर्थहीन छ, तर उनीहरूको योजना त्यहीतर्फ जाँदैछ जस्तो लाग्छ।”

चीनले दुर्लभ खनिजहरूको उत्पादन र प्रशोधनमा विश्वमै अग्रणी भूमिका खेलेको छ। यी खनिजहरू स्मार्टफोन, इलेक्ट्रिक गाडी, सैन्य उपकरण र नवीकरणीय ऊर्जाका प्रविधीहरूमा अत्यावश्यक हुन्छन्।

ट्रम्पले भनेका छन्, “हामी अहिले चीनबाट आउने सामानमा करमा ठूलो वृद्धि गर्ने तयारीमा छौं।”

उनका अनुसार, “चीनले अमेरिकासँग ठूला व्यापारिक शत्रुता देखाइरहेको छ, र हामी त्यो नजरअन्दाज गर्न सक्दैनौं।”

राष्ट्रपतिले यो विषयमा सीसँग कुनै सीधा कुरा नभएको पनि बताएका छन्। उनले चीनले चुम्बक र अन्य तत्वहरूमा एकाधिकार बनाउने प्रयासलाई भयावह र शत्रुतापूर्ण कदम भनेका छन्।