२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि चुनावमा लाग्न राष्ट्रपति पौडेलको आग्रह

देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि चुनावमा लाग्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा चुनावमा सबै दलहरू एकजुट भएर लाग्न आग्रह गरेका छन्।

शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आह्वान गरिएको सर्वदलीय बैठकमा उनले भने, “फागुन २१ गतेका लागि तय भएको चुनाव नै देशको समस्याको एक मात्र लोकतान्त्रिक बाटो हो, त्यसमा सबै दलको ध्यान केन्द्रित हुनुपर्छ।”

राष्ट्रपतिले सरकारले शान्ति र सुरक्षाको पक्का व्यवस्था गरेर निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास जनतामा जगाउनुपर्ने सुझाव दिएका छन्।

उनले थपे, “लोकतन्त्रको रक्षा सबै मिलेर मात्रै सम्भव छ। यदि चुनावबाहेक अन्य विकल्प खोजियो भने देश कुन दिशामा जान सक्छ भन्ने सोच्न जरुरी छ।”

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पनि बैठकमा बोल्दै भनिन्, “दलहरूको सहमतिको बिना चुनाव सम्भव छैन। तर सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव गराउन शान्ति सुरक्षाको व्यवस्था गर्नेछ।”

बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्रीहरू सहभागी थिए। प्रमुख दलका शीर्ष नेताहरू पनि उपस्थित रहे – नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र बर्षमान पुन।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याल र विपिन आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र मिना लामा, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र धनश्याम भुषाल, जसपाबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र जयकुमार राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी, र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती उपस्थित थिए।