पूर्व राष्ट्रपति बाइडेन प्रोस्टेट क्यान्सरको उपचारमा, रेडिएसन र हर्मोन थेरापी जारी
- २६ अशोज २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- पूर्व राष्ट्रपति जो बाइडेन अहिले प्रोस्टेट क्यान्सरको उपचारका क्रममा विकिरण (रेडिएसन) र हर्मोन थेरापी लिइरहेका छन्। उनका प्रवक्ताले यो उपचार बाइडेनको क्यान्सर उपचार योजनाको एक हिस्सा भएको बताएका छन्।
गत मे महिनामा ८२ वर्षका बाइडेनलाई हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो। बाइडेनले सबैलाई प्रेम र सहयोगका लागि धन्यवाद दिंदै भनेका छन्, “क्यान्सरले हामी सबैलाई छुन्छ, तर हामी बलियो रूपमा यसको सामना गर्दैछौं।”
बाइडेनका छोरा ब्यू बाइडेनको पनि सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएको थियो।
गत वर्ष ट्रम्पसँग दोस्रो पटक राष्ट्रपति चुनाव लड्ने क्रममा बाइडेनको स्वास्थ्य कमजोर भएको र अन्ततः उनले उम्मेदवारी फिर्ता लिएर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए।
प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर मानिन्छ, र प्रारम्भिक चरणमै पत्ता लागे उपचार सम्भव हुन्छ। तर यो पुरुषहरूमा क्यान्सरका कारण हुने मृत्युको दोस्रो प्रमुख कारण पनि हो।