२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो : राउटे समुदायका युवा

रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो : राउटे समुदायका युवा

काठमाडौं- राउटे समुदायमा बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले सुरक्षा जोखिम बढाएको छ। असोज २४ गते राति मदिरा सेवन गरेर बस्तीभित्र छिरेका एक युवालाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा राखेका थिए। बिहान प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाइएको छ।

राउटे युवा दीपक शाहीले भने, “राति बस्तीभित्र बाहिरका मानिस आउँदा हामी असुरक्षित महसुस गर्छौं, सुरक्षा चाहिन्छ। हिजोमात्र एकजनाले रक्सी पिएर हल्ला गर्‍यो।” सोसेकका दुर्गा खत्रीले पनि राउटे बस्तीमा प्रहरी आवश्यक रहेको बताए।

समुदायमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ। प्रारम्भिक रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा २५ जना बिरामी परेका छन्। स्वास्थ्यकर्मीहरू प्राथमिक उपचार मात्र गर्न पाएका छन्।

राउटे समुदायको जनसङ्ख्या लगातार घट्दै गएको छ। राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार २०७५ मा १४९ रहेका सदस्य अहिले १३५ पुगेका छन्। विशेषज्ञहरूले यसको कारण सामाजिक परम्परा, मदिरा सेवन, प्रजनन स्वास्थ्य अभाव, कुपोषण र उपचारको पहुँच नहुनु रहेको बताएका छन्।

सोसेक नेपालका प्रमुख हीरासिंह थापाले भने, “सामाजिक परम्परा र एकल महिलाको अवस्था, अत्यधिक मदिरा सेवनले जनसङ्ख्या घटाएको छ। सरकारले उनीहरूको संरक्षणका लागि योजना बनाउनुपर्छ।”

कर्णाली प्रदेश संयोजक मानबहादुर कार्कीले पनि राउटेहरूको स्वास्थ्य, सुरक्षा र संरक्षणमा तीनै तहका सरकारहरूले ध्यान दिनुपर्ने बताए। प्रदेश सरकारले राउटे करिडोर निर्माण गरी संरक्षणका योजना अगाडि सारेको छ।