२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मेयर पदका उम्मेदवार एन्ड्र्यू कुओमोले भने- नेपाली समुदायलाई स्थान दिनेछु

मेयर पदका उम्मेदवार एन्ड्र्यू कुओमोले भने- नेपाली समुदायलाई स्थान दिनेछु

न्यूयोर्कन्यूयोर्क राज्यका पूर्व गभर्नर र मेयर पदका उम्मेदवार एन्ड्र्यू कुओमोले दक्षिण एशियाली सञ्चारकर्मीहरूसँग भेट गर्दै आप्रवासी समुदायले भोगिरहेको चुनौतीकाबारे धारणा राखेका छन्।

छलफलमा उनले स्वास्थ्य, शिक्षा, आप्रवासन र घृणा अपराधजस्ता विषयमा आप्रवासी समुदायले सामना गरिरहेको कठिनाइबारे खुलेर कुरा गरेका छन्।

कुओमोले स्वास्थ्य क्षेत्रमा असमानता हटाउन बहुभाषिक र समुदायमै आधारित सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए। उनले भने, “हामीले समुदायका लागि काम गर्ने अस्पताल र क्लिनिकलाई पर्याप्त स्रोतसाधन र भाषा सहयोगका सुविधा दिनुपर्छ।”

उनले मधुमेह र मुटुरोगजस्ता दीर्घ रोगका लागि सचेतना अभियान सञ्चालन गर्ने र मानसिक स्वास्थ्यका लागि समुदायमा आधारित सहयोग समूह गठन गर्ने योजना समेत अघि सारेका थिए।

शिक्षा क्षेत्रमा कुओमोले आप्रवासी बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सुरुदेखि नै विशेष कार्यक्रम ल्याउने बताए। उनले भाषा सहयोग, अतिरिक्त कक्षा र महामारीपछि विद्यार्थी पुनःस्थापनाका लागि बजेट वृद्धि गर्ने उल्लेख गरे।

आप्रवासन नीतिबारे बोल्दै कुओमोले न्यूयोर्क सहरलाई “आप्रवासीहरूको सहर” भन्दै संघीय नीतिले ल्याउने विभाजनको खतरा औँल्याए। उनले आप्रवासीहरूको कानुनी हैसियत सुरक्षित गर्ने र नागरिकता प्रक्रिया सहज बनाउने प्रतिबद्धता जनाए।

दक्षिण एशियाली समुदायमाथि बढ्दो घृणा अपराधबारे उनले भने, “पूर्वाग्रहका साथ भएको अपराधमा कुनै ढिलाइ हुँदैन, कडा कारबाही हुनेछ।” उनले “नो हेट इन आवर स्टेट” अभियानको स्मरण गर्दै समुदायसँग विश्वास पुनःस्थापना गर्ने योजना पनि प्रस्तुत गरे।

कार्यक्रममा भारत, नेपाल, बङ्गलादेश र पाकिस्तानका पत्रकारहरूको सहभागिता थियो। त्रिवेणी टाइम्सका नेपाली पत्रकार बेगम पण्डितले कुओमोसँग सोधेका थिए, “यदि चुनाव जित्यौ भने नेपाली समुदायलाई प्रशासनमा समावेश गर्छौ?”

जवाफमा कुओमोले भने, “निश्चय नै, नेपाली समुदायलाई मेरो प्रशासनमा स्थान दिनेछु।”

कुओमोले दक्षिण एशियाली समुदायका प्राथमिक मुद्दा स्वास्थ्य, शिक्षा, आप्रवासन सुरक्षा र घृणा अपराध नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताएका छन्।

उनले भने, “समुदायको आवाज सुनेर मात्रै वास्तविक समाधान सम्भव हुन्छ।”

साउथ एशियाली प्रेसका पत्रकारहरूले उम्मेदवारहरूको भाषण मात्र होइन, उनीहरूको कार्यनीति र प्रतिबद्धताको मूल्याङ्कन गरिरहेको जनाइएको छ, जुन लोकतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ।