२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

डा. रमेश अधिकारी ‘बेस्ट प्रिन्सिपल अवार्ड २०२५’ बाट सम्मानित

डा. रमेश अधिकारी ‘बेस्ट प्रिन्सिपल अवार्ड २०२५’ बाट सम्मानित

लन्डन- लन्डनको ऐतिहासिक युनिभर्सिटी अफ ग्रीनवीचमा सम्पन्न ‘नेपाल एजुकेशन अवार्ड्स यूके २०२५’ कार्यक्रममा डा. रमेश अधिकारीलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड २०२५’ बाट सम्मान गरिएको छ।

सोमबार कलेज रिडर्स पत्रिकाद्वारा आयोजित समारोहमा साउथ वेस्टर्न स्कुलका प्रिन्सिपल डा. अधिकारीलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले प्रमुख अतिथिको रूपमा पदक प्रदान गरेका थिए। कार्यक्रममा युनिभर्सिटी अफ ग्रीनवीचकी उपकुलपति प्रोफेसर जेन ह्यारिङटन र नेपालका विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूको पनि विशेष उपस्थिति थियो।

निर्णायक मण्डलका प्रमुख र मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यका अनुसार नेपालमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको कारण डा. अधिकारीलाई यो अवार्ड प्रदान गरिएको हो।

समारोहमा बोल्दै राजदूत घिमिरेले नेपाल–बेलायत साझेदारी र साझा मूल्यहरूको सम्मान स्वरूप यो अवार्ड महत्वपूर्ण भएको बताए। उनले भने, “नेपाली विद्यार्थीहरू अहिले विश्वस्तरमा प्रतिस्पर्धी बन्दै छन्। उनीहरूको ज्ञान र नवप्रवर्तनले नेपालको समाज र अर्थतन्त्रमा नयाँ ऊर्जा थपेको छ।”

उनले थपे, “उत्कृष्टताको कुनै सिमा हुँदैन। हामी सबै मिलेर निष्पक्ष र समावेशी समाज निर्माणको दिशामा अघि बढिरहेका छौं, जसले नेपाल–बेलायत मित्रतालाई अझ मजबुत बनाउनेछ।”

ग्रिनविच विश्वविद्यालय सन् १८९० मा स्थापना भएको हो र अहिले १२५ भन्दा बढी देशका करिब २५,००० विद्यार्थी यहाँ अध्ययनरत छन्।

कार्यक्रममा कलेज रिडर्सका कार्यकारी सम्पादक केशव नेपालले भने, “नेपालको शिक्षा क्षेत्र अहिले विश्वस्तरमा आफ्नो पहिचान बनाउँदैछ। यस्ता अवार्डहरूले नेपाली शिक्षाको गौरव बढाउँछ।”

युनिभर्सिटी अफ ग्रीनवीचककी कार्यकारी निर्देशक क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थासँग दीर्घकालीन साझेदारीका लागि विश्वविद्यालय उत्साहित रहेको बताइन्।