आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा रोशनी अधिकारी निर्वाचित
- ३० अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- नेपाल वातावरण पत्रकार समूह (नेफेज) की पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन्।
संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार अधिकारी सन् २०२६–२०२९ का लागि IUCN को पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएकी हुन्।
अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न IUCN विश्व संरक्षण महासभामा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् पदका लागि प्रतिस्पर्धा भएको थियो।
महासभाले सन् २०२६–२०२९ अवधिका लागि नयाँ नेतृत्व र प्रतिनिधिहरूको निर्वाचन सम्पन्न गरेको छ। सोही क्रममा संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पनि दोस्रो कार्यकालका लागि IUCN का अध्यक्षमा पुनः निर्वाचित भएका छन्।