२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने

एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्र गति दिएको छ।

देशभरको ट्राफिक व्यवस्था नियन्त्रित हुने यो केन्द्रीय कन्ट्रोल रुम पुनर्निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अहिले सोही अनुसार काम अगाडि बढिरहेको एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले बताए।

उनका अनुसार आन्दोलनका बेला धेरै संरचना बिग्रिएका थिए। “हामीबीच छलफल भयो, अनि केही साथीहरूले मिलेर रकम संकलन गरेर करिब एक करोडमा कन्ट्रोल रुम बनाउँदैछौं,” उनले भने। “अब केही समयमा निर्माण सकिन्छ।”

श्रेष्ठका अनुसार नेपाल सरकारका मन्त्री कुलमान घिसिङले सवारी लाइसन्स छाप्ने मेसिन खरिद गरेर सहयोग गर्न आग्रह गरेका छन्। “त्यो प्रस्ताव हामीले सकारात्मक रूपमा लिएका छौं,” उनले बताए।

कन्ट्रोल रुमको काम सकेपछि करिब तीन करोड रुपैयाँ लागत पर्ने लाइसन्स मेसिन किन्ने र त्यसपछि ब्रेथलाइजर मेसिन खरिद गरेर सरकारलाई सहयोग गर्ने योजना एनआरएनएको छ।

सडक सुरक्षाको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक प्रविधिसहित पुनर्निर्माण भएपछि देशभरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।