हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो
- ३० अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ ।
बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ ।
यसअघि सम्म हमासले इजरायललाई १० जना बन्धकको शव हस्तान्तरण गरिसकेको छ भने अझै १० जना बन्धकका शवहरू फिर्ता गर्न बाँकी छन् । हमासको सैन्य शाखा ‘अल–कस्साम ब्रिगेड्स’ले विज्ञप्ति जारी गर्दै ‘आफूले सम्झौताअनुसार सबै जीवित इजरायली कैदीहरू र पाउन सकिएका शवहरू हस्तान्तरण गरिसकेको’ जनाएको छ । बाँकी शव फिर्ता गर्न ‘विशेष उपकरण र व्यापक प्रयास आवश्यक पर्ने’समूहले उल्लेख गरेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले पनि ४५ जना प्यालेस्टिनी बन्दीहरूको शव फर्काइएको पुष्टि गरेका छन् । यसअघि मंगलबार दक्षिण गाजाको खान युनिसस्थित नासर अस्पतालले पनि ४५ वटा शव प्राप्त भएको जनाएको थियो । हालसम्म इजरायलले कुल ९० जना प्यालेस्टिनी कैदीका शवहरू फिर्ता गरेको छ ।
शव फिर्ता प्रक्रिया अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गतको एउटा महत्वपूर्ण चरण मानिएको छ । यसअघि गाजाबाट बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरिँदा करिब दुई हजार जना प्यालेस्टिनी कैदी र बन्दीहरू इजरायली जेलबाट रिहा भएका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चेतावनी दिँदै भनेका छन कि, यदि हमासले सम्झौता उल्लङ्घन गर्छ भने मैले इजरायललाई पुनः सैन्य कारबाही सुरु गर्न अनुमति दिनेछु । एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने चेतावनी दिएका थिए ।