न्यूयोर्कमा ‘सिन्धु दीपावली साँझ २०२५’ र १५औं वार्षिकोत्सवकाे भव्य तयारी
- ३१ अशोज २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- सिन्धु युएसए वेलफेयर सोसाइटी इन्कद्वारा ‘सिन्धु दीपावली साँझ २०२५’ तथा सोसाइटीको १५औं वार्षिकोत्सव समारोह आगामी शनिबार, अक्टोबर १८, २०२५ मा न्यूयोर्कको ज्याक्सन हाइटस्थित गुल्शन ट्यारेस हलमा भव्य रूपमा आयोजना हुने भएको छ।
‘जीवनका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम सोसाइटीको वार्षिक प्रमुख सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा मनाइँदै आएको छ। दीपावली साँझलाई यसपटक पनि नेपाली समुदायबीचको एकता, संस्कार र सहयोगको प्रतीकका रूपमा मनाउने तयारी गरिएको आयोजक समितिले जनाएको छ।
सिन्धु युएसए वेलफेयर सोसाइटीले लामो समयदेखि सिन्धुपाल्चोकका अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ। समाजले यो शैक्षिक अभियानलाई अझ प्रभावकारी बनाउनका लागि सम्पूर्ण शुभेच्छुक, दातृ समुदाय र नेपाली प्रवासीहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गरेको छ।
कार्यक्रममा न्यूयोर्कका लोकप्रिय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहनेछ। सोसाइटीका अध्यक्ष पासाङ नोर्बु शेर्पाको संयोजकत्वमा हुने कार्यक्रममा पासाङ डोल्मा शेर्पा र लकेश श्रेष्ठ होस्ट रहनेछन्।
सिन्धु युएसए वेलफेयर सोसाइटीका उपाध्यक्ष लकेश श्रेष्ठका अनुसार, यो कार्यक्रमले समाजको शैक्षिक तथा सामाजिक उद्देश्यलाई सुदृढ पार्ने लक्ष्य लिएको छ। उनले दीपावली साँझलाई मनोरञ्जनात्मक, सांगीतिक र समुदायमूलक उत्सवका रूपमा मनाउने तयारी भइरहेको बताए।
साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम राति १ बजेसम्म सञ्चालन हुनेछ। समाजले कार्यक्रमलाई अझ आकर्षक र सफल बनाउनका लागि नेपाली समुदायका सदस्य, समाजसेवी तथा कलाकारहरूलाई सहभागिताका लागि अनुरोध गरेको छ।