विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
- ३१ अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा ईस्ट–एशिया प्यासिफिक छनोटको उपाधि जितेकाे छ। नेपाल यो प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेकाे हाे।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले हरायो। सामोआले २१२ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा सात विकेट गुमाएर ८७ रनमा अल्झियो। सामोआका सिन सोलियाले ४० रन बनाए।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर २११ रन बनायो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ५३ रन जोडे। लोकेश बमले ३९ रन, कप्तान रोहित पौडेल अविजित २१ रन र कुशल भुर्तेल १७ रन बनाए।
सामोआका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर र नुह मिडले समान एक–एक विकेट लिए। यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। सुपर सिक्समा युएईमाथि एक रनको रोमाञ्चक जित र कतारमाथि पाँच रनको जित निकाल्यो। तेस्रो खेलमा ओमानलाई ३८ रनले हरायो।
यो छनोटबाट नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपको टिकट पक्का गरिसकेका छन्। विश्वकप माघ २७ देखि फागुन २४ सम्म हुनेछ।