स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँः राष्ट्रपति पौडेल
- ०१ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्ने विश्वास दिलाउन सरकार र सुरक्षा निकायलाई आग्रह गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको सहभागिता थियो। उनले सुरक्षा निकायलाई राजनीतिक दल र नागरिकहरूलाई चुनावबारे विश्वास दिलाउन अनुरोध गरेका छन्।
राष्ट्रपतिले भने, “शान्ति कायम राख्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्छ।” साथै, भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी तुरुन्त फिर्ता गर्न पनि आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्कीले भनिन्, सरकारले निर्वाचनका लागि तयारी पूरा गरिसकेको छ र सुरक्षा निकायलाई आवश्यक सबै साधन उपलब्ध गराइनेछ। सुरक्षा निकायका प्रमुखहरूले पनि चुनाव शान्तिपूर्वक सम्पन्न गराउन तयार रहेको आश्वासन दिएका छन्।